Logo

‘सित्तैमा गाई लैजानुस्, मज्जाले दूध खानुस्’



कखरा संवाददाता


नेपालगञ्ज– कसैलाई गाई–गोरु चाहिएको छ? भर्खरै ब्याएका, ब्याउने अवस्थामा रहेका गाई लिने हो भने नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा सम्पर्क राख्नुस् है! नेपालगञ्ज उपमहानगरपालिकाले गाईगोरु सित्तैमा दिने भएको छ।

नेपालगञ्जमा छाडा पशु व्यवस्थापन चुनौती बन्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले कान्जीहाउसमा रहेका गाईगोरु सित्तैमा दिने भएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कान्जीहाउसमा दुहुनो र ब्याउने अवस्थाका गाई प्रशस्तै रहेका छन्। ‘गाई पाल्ने कोही हुनुहुन्छ भने आउनुस्, हामी सित्तैमा दिन्छौँ, छाडा पशु व्यवस्थापनको चुनौतीसँग जुधिरहेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले भने, ‘सित्तैमा गाई लैजानुस्, मज्जाले दूध खानुस्।’

नेपालगञ्जमा दिन प्रतिदिन छाडा पशुको संख्या बढ्दै गएपछि महानगरमा चुनौती थपिएको थियो। नेपालगञ्ज–२१ बिर्तामा एउटा कान्जीहाउस सञ्चालनमा ल्याइएको छ। डेढ/दुई सय क्षमताको कान्जीहाउसमा तीन सय ९३ वटा पशु रहेका छन्।

नेपालगञ्जका सडकमा अझै त्यो भन्दा बढी छाडा पशु रहेका छन्। कान्जीहाउसमा खान नपाएर गाई मरिरहेको भन्दै एकथरीले मेयर राणाको चर्को आलोचना गरिरहेका छन्। आर्य समाज र नेपालगञ्ज ग्यालरीको टीमले केही हप्तादेखि कान्जीहाउसमा घाँस पुर्‍याइरहेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाले कान्जीहाउसमा थुनेर गाईलाई मारिरहेको जस्ता आरोपहरु लागेपछि बुधबार मेयर राणाले सर्वपक्षीय बैठक बोलाएका छन्। ‘कान्जीहाउसमा छाडा पशु अटेका छैनन्, सडकमा उस्तै छन्। अब यसलाई कसरी व्यवस्थापन गर्ने, मैले थेग्न सक्दिँन’, मेयर राणाले बैठकमा भने।

पार्टी प्रतिनिधि, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, एसपी वीरबहादुर वली, उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल, वडा र ट्राफिक प्रहरीका प्रमुखहरु सम्मिलित बैठकले कान्जीहाउसमा रहेका गाई, गोरुलाई कसैले लैजान्छ भने सित्तैमा दिने, कान्जीहाउसलाई अझ सुधार्ने, अन्य जिल्लामा रहेका गौशाला या पहाडी जिल्लामा पठाउने, दैनिक खानाको लागि सहयोग गर्न सबैलाई आव्हान गर्ने र जिल्लामा ठूलो गौशाला निर्माणका लागि ठाउँ खोज्ने निर्णय भएको छ।

जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले एक हप्ताभित्रै जिल्ला सभा बोलाएर आठ वटै तहको सहयोगमा ठूलो गौशाला निर्माणका लागि पहल गर्ने बताए।

बैठकमा भारतबाट आउने गाईलाई रोक्न नाकामा निगरानी बढाउने, किसानको घरमा रहेका पशुको गणना गरेर ट्याग लगाउनेजस्ता विषयमा छलफल भएको छ। मेयर राणाले केही दिनअघि ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई छाडा पशु व्यवस्थापनको विषयमा आग्रह गर्दा उनले अस्वीकार भएको बताए।

‘मैले मुख्यमन्त्रीलाई छाडा पशुको व्यवस्थापन गर्न सकिएन। प्रदेशले केही गर्नु पर्‍यो भन्दा मुख्यमन्त्रीले केही गर्न सक्दिन भन्ने जवाफ दिनुभयो’, मेयर राणाले थपे, ‘स्थानीय तहले नसकेपछि भन्ने त प्रदेशलाई नै होला नि?’

नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला ट्राफिक प्रहरीको सहयोगमा हरेक शनिबार छाडा पशु नियन्त्रणमा लिएर कान्जीहाउस पुर्‍याउने गर्दथ्यो। बुधबारको बैठकमा मेयर राणाले अब छाडा पशु नियन्त्रणमा नलिने बताए।

जिल्ला प्रहरी प्रमुख एसपी वलीका अनुसार, बाँकेको सडकमा एक हजार चार सय छाडा पशु रहेका छन्। सडकमा छाडा पशु बसिदिँदा दुर्घटनाको जोखिम उच्च रहेको छ।

प्रतिक्रिया दिनुहोस्