Logo

‘जुम्लामा बिजुली पठाउन ठेक्का सम्झौता भइसकेको छ’



कखरा संवाददाता


काठमाडाैं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतलले जुम्ला अन्धकार भएको लामो समय भैसक्दा पनि प्राधिकरणले बिजुली नदिएको भन्दै संसदमा आक्रोश पोख्नुभयो ।

उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री वर्षमान  पुनलाई श्री ३ महाराजको पनि दर्जा दिनुभयो । तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रिडमार्फत विद्युत पुर्‍याउन ठेक्का सम्झौता भइसकेको बताउनु भएको छ ।

‘जुम्लामा अहिलेसम्म हाम्रो अफिस पनि थिएन, अब हामीले अफिस खोल्ने निधो गरिसकेका छौँ, र जुम्लामा डेढ वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली पुर्‍याउन दैलेखबाट ३३ केभी प्रसारण लाइन बनाउन ठेक्का सम्झौता गरिसकेका छौँ’, घिसिङले भन्नुभयो, ‘हामीले पहल गरिरहेका छौँ, त्यसरी श्री ३ नभनेको भए हुन्थ्यो ।’

उहाँले प्राधिकरणको स्वामित्वमा रहेको लघु जलविद्युत स्थानीय उपभोक्ता समितिले भाडा (लिज)मा लिएर चलाएको बताउनुभयो । ‘लिज सम्झौतामा मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ, त्यसैले हामीले केही गर्न सक्दैनौँ’, घिसिङले भन्नुभयो ।

उहाँले राष्ट्रिय ग्रिड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा  डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको बताउनुभयो ।

‘फोन उठाउन पाइन, तर कार्यालयमा आएर भेटेको भए पनि हुन्थ्यो’

कार्यकारी निर्देशक घिसिङले आफुले जानीजानी सांसद महतको फोन नउठाएको भन्ने आरोपको खण्डन पनि गर्नुभएको छ । ‘केही दिनअघि उहाँ (महत)ले फोन गर्नु भएको रहेछ, म बैठकमा थिएँ, पछि कलब्याक गर्छु भन्दा भन्दै बिर्सिए छु, जुम्लाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणले गम्भीर रुपमा काम गरिरहेको छ’, उहाँले भन्नुभयो ।

आफू देशभरिकै कामको दबाबमा हुने भएकाले फोन फिर्ता गर्न नपाएको तर सांसदले आफूलाई भेटेको भए पनि समस्या समाधानमा थप पहल गर्न सकिने घिसिङले बताउनुभयो ।

‘मेरो कार्यालयमा दैनिक सयौं जना आउनुहुन्छ, भेटेर समस्या समाधानको पहल गरिरहेको छु, माननीयज्यू पनि आएर समस्या राखेको भए अस्ति नै केही गर्न सकिन्थ्यो होला, तर उहाँ आउनु भएन’, घिसिङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्