Logo

कुन राजेन्द्र महतोको नागरिकता खारेज ?



कखरा संवाददाता


काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छर्ने काम गरेको भन्दै आपत्ती जनाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै महतोले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाउनुभयो । सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर जानकारी गराएको र सोही अनुसार संञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै उहाँले राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न नमिल्ने तर्क गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता खारेज भएको जानकारी गराउनुभएको थियो । सोही विषयलाई लिएर आफूविरुद्ध गलत प्रचार गर्ने काम भएको भन्दै उहाँले कुन राजेन्द्र महतो हो भन्ने सरकारले नखुलाएका कारण आफ्नो मानहानि भएको बताउनुभयो ।

‘भ्रमको खेती शुरु भएको सम्बन्धमा म देशबासीलाई जानकारी गराउन चाहन्छु, हिजो मात्रै नेपाल सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नेपाली नागरिकताको प्रमाणपत्र बदर गरिएको छ भनेर समाचार आएको छ’, महतोले भन्नुभयो, ‘कुन राजेन्द्र महतो हो ? खै त ? राष्ट्रियतासँग जोडिएको यस्तो संवेदनशील विषयमा नेपाल सरकारका प्रवक्ताले नेपाल सरकारको निर्णय सार्वजनिक गर्दा राजेन्द्र महतो लगायत यति जनाको नागरिकता वदर गरिएको भनेर समाचार आउनु के हो त्यो ?’

महतोले आफ्नो मानहानी भएकाले सरकारले माफी माग्नुपर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्