Logo

विप्लव समूहका नेता पक्राउ : हतियार संकलन र एकीकृत गर्ने जिम्मा



कखरा संवाददाता


काठमाडौं । मोरङको केराबारीबाट पक्राउ परेका ४५ वर्षीय दीपक राई ‘विकल्प’लाई प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अत्याधुनिक हतियार संकलन र एकीकृत गर्ने जिम्मेवारी दिएको बुझिएको छ ।

केराबारी गाउँपालिका–३ घर भएका उनलाई गाउँकै एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा प्रहरीको विशेष टोलीले बिहीबार बिहान पक्राउ गरेको थियो ।

सरकारले ‘विप्लव’ लाई प्रतिबन्ध लगाएपछि उनी आफ्नो घरमा भने बस्दैनथिए । उनी ‘विप्लव’ समुहका मेची–कोसी ब्यूरो सदस्य एवं धनकुटा–मोरङ सेक्रेटरी पनि हुन् । उनलाई पदीयसहित हतियार संकलन गरेर एकीकृत गर्ने विशेष जिम्मेवारी दिएर परिचालन गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘पक्राउ परेका राईले पूर्वका तराईका जिल्लाबाट भेला पारेर उच्च पहाडी क्षेत्रतर्फ हतियार पठाउने काम गरिरहेको खुलेको छ,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘निक्कै अघिदेखि नै उनी यो भूमिकामा रहेको पाइयो ।’ अन्नपूर्णले खबर छापेको छ ।

खासगरी माओवादीले द्धन्द्धकालमा प्रयोग गरेको तर सेना समायोजनाका बेला सरकारलाई नबुझाएको र लुकाएर राखेको अत्याधुनिकसहित हतियार संकलन गरेर एकै ठाउँमा भेला पार्ने काम राईको नेतृत्वमा परिचालित ‘विप्लव’ समुहका नेता कार्यकर्ताले गर्ने गरेको सुरक्षा निकायको दाबी छ ।

त्यतिबेला क्यान्टोनमेन्टमा राखिएका हतियार समेत हराएका थिए । त्यही हतियार अहिले सरकार विरोधी गतिविधि गरिरहेको ‘विप्लव’ समूहले प्रयोग गर्ने गरेको सुरक्षा निकायको निस्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्