Logo

‘बाढीपहिरो पीडितका लागि कांग्रेस सांसदको एक महिनाको तलब’



कखरा संवाददाता


काठमाडाैं । बाढीपहिरो पीडितका लागि नेपाली कांग्रेसका सांसदहरुले एक महिनाको तलब प्रदान गर्ने भएका छन् ।

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजधानीमा आयोजित कार्यक्रममा सांसदहरुले एक महिनाको तलब बाढी- पहिरो पीडितका लागि दिने बताउनुभएको हो ।

‘हाम्रो पार्टीको केन्द्रीय कार्यसमिति बैठक जारी छ, हामी हात फुकाएर सहयोग गर्छौं’ उहाँले भन्नुभयो, ‘राहत तथा उद्धारका लागि हाम्रो पार्टीको पुरै नेटवर्क परिचालन गर्छौं । ‘अहिले जनधनको क्षतिको पूर्ण विवरण आएको छैन् ।’ अहिले सार्वजनिक भएको जनधनको क्षतिको विवरण बाहिर आएजतिमात्रै नभएर त्यो भन्दा अझै धेरै संख्या हुनसक्ने पौडेलको भनाइ छ ।

सरकारले बाढी तथा पहिरो प्रभावितलाई तत्काल राहतको कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्नेमा त्यसमा ढिलाई भइरहेको पौडेलको गुनासो छ । ‘पीडितको राहतका लागि सरकारले ठोस ढंगबाट राहतका कार्यक्रम ल्याउनुपर्छ । ढिला भैसक्यो । २० दिनपछि राहत दिएर हुँदैन्’, पौडेलले भन्नुभयो, ‘हामीले नेता तथा कार्यकर्तालाई आह्वान गरिसकेका छौं । हामीले आफ्नो संगठनात्मक क्षमता अनुसार परिचालन गरिरहेका छौं । कसरी जाने भन्ने विषयमा पार्टीभित्र अहिले पनि छलफल जारी छ ।’

पीडितको उद्धार तथा राहतमा सबैले स्वयंसेवी ढंगबाट परिचालित हुन आवश्यक रहेको पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्