Logo

‘निगमलाई आर्थिक सहायता नदिइने’



कखरा संवाददाता


काठमाडौं । सरकारले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई आर्थिक सहायता उपलब्ध गराउन नसक्ने प्रष्ट पारेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले ३७ अर्ब ऋणमा डुबेको नेपाल वायुसेवा निगमलाई सुधारको ठोस योजना नल्याएसम्म कुनै पनि हालतमा आर्थिक सहायता उपलब्ध गराउन नसकिने प्रष्ट्याउनु भएको हो ।

सापकोटाले प्रधानमन्त्री केपी ओलीको निर्देशन त्यही रहेको पनि संघीय संसदको अर्थ समितिलाई जानकारी गराउनुभयो । समितिको शुक्रबारको बैठकमा निगमका पदाधिकारीलाई छलफलमा बोलाइएको थियो । त्यसक्रममा निगम व्यवस्थापनले पेश गरेको विवरणप्रति समेत सचिव सापकोटाको आपत्ति रहेको छ । उहाँले निगम पुनर्संरचना गरेर मात्रै अघि बढ्न सकिने प्रस्ताव अघि सार्नुभयो । त्यसका लागि ऐन संशोधनको प्रस्ताव ल्याउन निगम सञ्चालक समितिलाई सचिव सापकोटाले सचेत पनि गराउनुभयो । निगमले तत्कालको आर्थिक संकट समाधान गर्न सरकारसँग २० अर्ब बजेटको माग गर्दै आएको छ । तर सचिव सापकोटाले विनासुधारको योजना निगमलाई बजेट उपलब्ध गराउन नसकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले पनि एक सार्वजनिक कार्यक्रममा निगममा सुधार नआएसम्म बजेट दिने पक्षमा सरकार नरहेको बताउनुभएको थियो ।

बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहालले निगमलाई सुधारको ठोस योजना तय गरेर समितिमा पेश गर्न निर्देशन दिनुभएको थियो । उहाँले निगमलाई सुधार गर्न समितिको तर्फबाट सक्दो सहयोग हुने तर त्यसका लागि निगम व्यवस्थापनले आफ्नो हालसम्मको कामकारबाही पारदर्शी राख्नुपर्ने पनि प्रष्ट पार्नुभयो ।

बैठकमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगममाथि हेर्ने दृष्टिकोण नै सही नभएको गुनासो गर्नुभएको थियो । उहाँले निगमले लिएको लोन देख्ने तर त्यसको पूँजी नदेख्ने गर्न नहुने पनि बताउनुभयो । खरेलले निगमले घाटा कम गर्ने प्रयास गरिरहेको पनि समितिलाई जानकारी गराउनुभएको थियो ।

निगमले सरकारसँग ३७ अर्ब ऋण तिर्न भन्दै तत्काल २० अर्ब बजेट माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्