Logo

मनाङेलाई नेकपामा रातो कार्पेट



कखरा संवाददाता


काठमाडौं । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनी मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वा्चित भएका हुन् । सांसद गुरुङसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की सचिवालय सदस्य पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गरेका दुवैजनालाई नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खादा र अविर लगाएर स्वागत गरे। उनले गुरुङलाई नेकपाको विधानसमेत प्रदान गरे ।

नेकपा प्रवेश गरेका गुरुङ विगतमा ‘डन’ का रुपमा चिनिन्थे । उनलाई अहिले पनि धेरैले ‘दीपक मनाङे’ उपनामबाट चिन्छन् । प्रदेशसभा निर्वाचनमा उनलाई तत्कालीन वाम गठबन्धन (तत्कालीन एमाले र माओवादी केन्द्रसहित) ले मनाङ (ख) बाट उम्मेदवार बनाउने चर्चा चलेको थियो। तर ‘डन’ छविका उनलाई आधिकारिक उम्मेदवार बनाउँदा मतदाता भड्किने भन्दै विरोध भएपछि अन्तिम समयमा टिकट दिइएन ।

गठबन्धनबाट टिकट नपाएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडे । स्वतन्त्र उम्मेदवार उनलाई तत्कालीन एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनले सघाएको थियो । यो समाचार आजको नागरिक दैनिकमा सन्देश श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्