Logo

‘अबको शिक्षा ७० प्रतिशत प्राविधिक’



कखरा संवाददाता


मोरङ । संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अबको शिक्षा ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य हुने बताउनु भएको छ ।

देशमा अहिले भइरहेको पठन पाठनले शिक्षित बेरोजगारहरुको जन्म गराइरहेको बताउँदै उहाँले अब भने प्राविधिक शिक्षालयहरुको विकास र प्रबद्र्धनमा सरकार लागेको बताउनु भयो । मोरङको बुढीगंगामा रहेको मनमोहन पोलिटेक्निक कलेजले मनमोहन अधिकारीको ९९ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेका्े  कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘अहिलेको शिक्षाले कुनै शिप आउँदैन, प्राविधिक ज्ञान आउँदैन’ पोलिटेक्निकका अध्यक्षसमेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘यस्तो शिक्षाको अवस्थालाई बदल्नुपर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले श्रममा सहभागी हुने, शिप भएको जनशक्ति तयार गरेमात्रै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा हुने बताउनु भयो । शिक्षा व्यवसायीक, गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन हुने लक्ष्य सरकारले ल्याएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्