Logo

मृत्युसँग संघर्ष गरिरहेकी पूर्वलडाकु निर्मला



कखरा संवाददाता


काठमाडौं । आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन। आमाको जलेको खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन्। तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्।

उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन्। त्रिवेणी ५ जुगार जबरबोटकी निर्मला आठ वर्ष अगाडि रोगले थलिएकी हुन्।

छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ। आमाको दैनिकीले उनलाई असाध्य पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन्। ‘आमा सधैं भुइँमा नांगै सुत्नुहुन्छ। सुत्ने लुगा पनि छैन अनि लगाउने कपडा पनि छैन। जाडोमा पनि यस्तै हो’, आमालाई हेर्दै जीवनले भने, ‘सानो छु, केही गर्न सक्दिनँ। छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ।’

माओवादी लडाकुको पाँचौं डिभिजन ब्यारेक दहबनमा हुँदै निर्मला बिरामी परेकी थिइन्। पछि थलिइन्।निर्मला उपचार खर्चको अभावमा मृत्युसँग संघर्ष गरिरहेकी छन्।

छारे रोग लागेको भन्थे। बढी बिरामी भएको आठ वर्षजति भयो। तीन वर्ष यता त झनै केही थाहा पाउँदिनँ। दिसापिसाब बसेकै ठाउँमा गर्छे’, निर्मलाकी ६१ वर्षीय सासू क्वारी विकले भनिन्। निर्मलाका दुवै खुट्टा चार वर्षअघि जलेका थिए। ‘घरमा एक्लै थिई। दुईवटै खुट्टा आगोमा परेछन्। सबै जलेको। अस्पताल लैजाने पैसा थिएन।

जडीबुटी खोजेर उपचार गरें’, क्वारीले घटना सुनाइन्, ‘जलेर कुहिएको खुट्टा गनाएर घरमै बस्न नसकिने। अहिले त अलि सन्चो भ’छ।’ उनी बुहारीले भोग्नुपरेको पीडाका कारण खिन्न छिन्। ‘धेरै दुःख पाई यसले। अभागी रैछे। त्यत्रो वर्ष माओवादीका लागि लडेकी, आज मर्नका लागि लड्दैछे।’ नागरिक दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्