Logo

अभिनेता खगेन्द्र लामिछाने अब निर्देशक



कखरा संवाददाता


काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने पनि निर्देशकको रुपमा देखिने भएका छन् । फिल्म ‘पानीफोटो’बाट उनले निर्देशन गर्न लागेका हुन् ।

फिल्म ‘पानीफोटो’को आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको छ । दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’को कथामा फिल्म निर्माण हुन लागेको हो ।

नाटकको खगेन्द्र स्वयंले लेखन र निर्देशन गरेका थिए । उनले यो नाटकलाई पुस्तकमा समेत ढालिसकेका छन् । अब, उनले उक्त नाटकलाई फिल्मको रुप दिन लागेका हुन् ।

भदौबाट छायांकन सुरु हुने फिल्ममा खगेन्द्रका अलावा सुनील पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा फिल्म छायांकन हुनेछ ।

कार्यक्रममा ‘पानीफोटो’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक खगेन्द्रले बताए । उनले फिल्म राम्रो बनाउन आफ्नो तर्फबाट कुनै कसुर नछाड्ने बताउँछन् ।

टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।

‘पानीफोटो’ पाचवर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बुबा आमाको कथामा आधारित भएर बन्नेछ ।

फिल्मलाई सन् २०२० मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ ।

प्रतिक्रिया दिनुहोस्