Logo

युवतीको विषयमा ग्याङ फाइट गर्ने सातजना जेल चलान



कखरा संवाददाता


ललितपुर : गत वैशाख २० गते पुल्चोकको सुमेरु सिटी अस्पताल नजिकै युवतीको विषयमा ग्याङ फाइटमा संलग्न सातजना जेल चलान भएका छन् । फाइटमा २० वर्षीय अन्सल शाक्यको मृत्यु भएको थियो । फाइटमा संलग्न सात युवालाई शुक्रबार पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता नारायण चिमोरियाका अनुसार मुकेश महर्जन, कृष्ण तामाङ, प्रितम चुडाल थापा, सागर शाही, कुमार तामाङ, विशान्त थापा मगर र सुजन सोडारी पुर्पक्षका लागि जेल चलान भएका हुन् । मुकेशले अन्सलमाथि छुरा प्रहार गरेको प्रहरी आनुसन्धानबाट खुलेको थियो ।

वैशाख २० गते साँझ ६:३० मा दुई पक्षबीच ग्याङ फाइट हुँदा मृतक शाक्यको टाउँको र छात्तिमा  गम्भीर चोट लागेको थियो । उपचारका लागि सुमेरु सिटी अस्पताल पुरयाउने बित्तिकै उनको मृत्यु भएको थियो ।

उनको मृत्यु भए लगत्तै प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको थियो । भोलिपल्ट एकजना र केही दिनपछि मात्र अन्य अभियुक्त पक्राउ परेका थिए ।

घटनामा संलग्न अविश्येक शाही, सविन लामा, विजय ठकुरी, शाही, एलेक्स भन्ने रुपेन खड्गी र जग्गु भन्ने पृथ्वीमान शाक्यमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दायर भएको थियो। मृतक पक्षका उनीहरु बिहीबार जनही २० हजार धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत पाटनका न्यायाधीश मदनबहादुर धामीले उनीहरु पुर्पक्षका लागि जेल चलानको आदेश दिएको जिल्ला अदालत पाटनका श्रेस्तेदार चन्द्रप्रकास तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्