Logo

विजेतालाई उपविजेताको चुनौती



कखरा संवाददाता


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार दुई खेल हुँदैछन् । हेडिङ्ली मैदानमा ३ः१५ बजे सुरु हुने पहिलो खेलमा पाकिस्तान र अफगानिस्तान भिड्नेछन् । अर्को खेलमा साविक विजेता अस्ट्रेलियाले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्दैछ । यो खेल लर्डस मैदानमा साँझ ६ः१५ बजे हुनेछ ।

अस्ट्रेलिया र न्युजिल्यान्ड पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन् । यसपटक पनि यी दुई टोलीको प्रदर्शन उत्च स्तरको छ । पाँच पटकको विश्वकप उपाधि जितेको अस्ट्रेलिया यसपटक पनि उपाधि रक्षा गर्ने दाउमा छ । विश्वकपको स्वाद चाख्न नपाएको न्युजिल्यान्डले पनि यसपटक आफूलाई दावेदार टोलीको रुपमा उभ्याएको छ । यी दुई टोली अघिल्लो विश्वकपको फाइनलमा भिडेका थिए । सन् २०१५ को फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले हराएर उपाधि जितेको थियो । त्यसैले आज न्युजिल्यान्डलाई अस्ट्रेलियासँग बदला लिने राम्रो अवसर जुरेको छ ।

जारी विश्वकपमा अस्ट्रेलिया र न्युजिल्यान्डले सात खेल खेलिसकेका छन् । अस्ट्रेलियाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ । सातमध्ये ६ खेलमा विजयी भएको अस्ट्रेलिया भारतसँग पराजित भएको थियो । न्युजिल्यान्ड पनि एक खेलमा मात्र पराजित भएको छ । पाँच खेलमा विजयी भएको न्युजिल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो । न्युजिल्यान्डको एउटा खेल वर्षाका कारण रद्ध भएको थियो । यी दुई टोलीबीच यसअघि विश्वकपमा १० भिडन्त भएको छ । जसमा अस्ट्रेलियाले सात र न्युजिल्यान्डले तीन खेल जितेको छ । दुबै टोली सन्तुलित देखिएका छन् । दुवैको ब्याटिङ र बलिङ राम्रो छ । त्यसैले यी दुई टोलीको भिडन्त प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

यसैगरी पाकिस्तानले अफगानिस्तानको खेल पनि रोचक हुने अनुमान गरिएको छ । सेमिफाइनल पुग्ने झिनो आशा रहेको पाकिस्तानविरुद्ध खरो रुपमा उत्रने छ । यसअघिनै उपाधि होटबाट बाहिरिएको अफगानिस्तानले पहिलो जितको प्रयास गर्नेछ । विश्वकपमा सात खेल खेलिसकेको अफगानिस्तानले सबै खेलमा पराजित भएको छ । पाकिस्तानले सातमध्ये तीन खेलमा जित र तीन खेलमा हार खेपेको छ । एक खेल बर्षाका कारण रद्ध भएको थियो । आजको खेलमा पराजित भए पाकिस्तानको विश्वकप यात्रा पनि सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्