Logo

एसईईको नतिजा आज सार्वजनिक हुने



कखरा संवाददाता


काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

नतिजा सार्वजनिक गर्नुअघि दिउँसो १ बजे परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठक डाकिएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिनुभयो । दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

गत बर्ष चैत १० गतेदेखि सुरु भएको एसईई परीक्षामा चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् ।

अघिल्लो वर्षको तुलनामा यस बर्ष केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो ।

अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो । परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्