Logo

यस्ता छन् गरीबको तरकारी भनेर हेपिने फर्सीका फाईदा



कखरा संवाददाता


फर्सीलाई गरीबको तरकारी भनेर हेँप्ने गरिन्छ । केही सस्तो चिजको कुरा गर्नुपर्यो भने फर्सीको भाउमा पाइन्छ भनेर हो्ँच्याइन्छ । तर यसको मूल्य कम भएपनि महत्व र गुण भने निकै धेरै छ ।
फर्सीमा भिटामिन ए, फलाम, फाइबर लगायतका विभिन्न पौष्टिक तत्वहरु प्रसस्त मात्रामा पाइने भएकाले यसको नियमित सेवन स्वास्थ्यका लागि लाभदायक हुन्छ । अझ खुसीको कुरा त के भने फर्सीको नियमित सेवनले मोटोपनाबाट पीडित मानिसलाई आफ्नो तौल घटाउन समेत सहयोग गर्छ ।
फर्सीलाई वजन घटाउने खानेकुराको रुपमा उपयोग गर्नका लागि उच्च क्यालोरीयुक्त खानेकुरालाई फर्सीका परिकारले प्रतिस्थापन गर्नुपर्छ । उदाहरणका लागि यदि तपाइँले उच्च प्रोटिनयुक्त गेडागुडी तथा सलाद भोजन गर्ने गर्नुहुन्छ भने त्यसको साटो फर्सीको सुप खान थाल्नुहोस् । फर्सीमा कम क्यालोरी मात्र होइन उच्च मात्रामा फाइबर पनि पाइन्छ ।
फर्सीमा उच्च मात्रामा फाइबर पाइने भएकाले यसको सेवनपछि समग्र पाचन क्रिया धिमा हुन्छ र भोक कम लाग्न थाल्छ । फर्सीमा रोग प्रतिरोधी पोषणहरु जस्तै भिटामिन, पोटासियम तथा म्याग्नेसियम समेत पाइन्छ जसले जिउको प्रतिरोधी क्षमता बढाउँछ ।
फर्सीलाई तरकारीको रुपमा, सलादको रुपमा तथा उसिनेर खाजाको रुपमा समेत सेवन गर्न सकिन्छ ।

फर्सीमा प्रसस्त मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जसले शरीरभित्र ‘भिटामिन ए’मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटुका लागि मद्दत गर्छ। विभिन्न अनुसन्धानबाट बिटा क्यारोटिनले क्यान्सर हुनबाट जोगाउने पनि देखिएको छ। यसैगरी, फार्सीमा प्रसस्त मात्रामा पाइने पोटासियमले हाम्रो शरीरमा रक्तचापको सन्तुलन मिलाउन र हड्डीलाई मजबुत राख्न मद्दत गर्छ।

अन्य तरकारीजस्तै फर्सी पनि फाइबरको राम्रो स्रोत हो। दीर्घ रोगहरु जस्तै– क्यान्सर, मोटोपना, मुटु रोग, मधुमेह आदि लाग्न नदिन हाम्रो शरीरलाई साधारणताया दैनिक २५–३० ग्राम फाइबर चाइन्छ। शरीरको यस्तो आवश्यकता परिपूर्ति गर्न पनि फर्सी लाभदायक तरकारी हो।

क्यालोरी थोरै भए पनि फाइबर आवश्यक मात्रामा हुने भएकाले फर्सी खाएको लामो समयसम्म भोक लाग्दैन र तौल नियन्त्रण प्रक्रियामा सहयोग पुग्छ। यस बाहेक फर्सीमा ‘भिटामिन ई’ र ‘सी’ पनि पाइन्छ, जसले ‘एन्टिअक्सिडेन्ट’का रूपमा हाम्रो शरीरमा काम गर्छ।

प्रतिक्रिया दिनुहोस्