Logo

मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ?यी हुन नेपालमा पाईने सस्ता बाईक



कखरा संवाददाता


काठमाडौं । सहरी सवारीका रुपमा मोटरसाइकललाई लिइन थालिएको छ । साँघुरा बाटो, धेरै ट्राफिक जाम तथा सार्वजनिक यातायातको कजोर उपलब्धताले मोटरसाइकल प्रयोगकर्ता बढ्दै गइरहेका छन् । त्यस्तै सहरहरुको विकास बढ्दै गएकाले पनि मोटरसाइकल प्रयोग गर्नेहरुको संख्या बढ्दो छ । मूल्य तथा माइलेजका हिसाबले सस्तो मोटरसाइकल उपभोक्ताको रोजाइमा पर्ने गर्छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्ना सदस्यहरुबाट उपलब्ध सवारीसाधनको अधिकतम खुद्रा मूल्य (एमआरपी) सार्वजनिक गरेको छ । यहाँ उक्त एमआरपीबाट नेपाली बजारमा उपलब्ध सस्ता मोटरसाइकल कुन हुन् उल्लेख गरिएको छ ।

नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो मोटरसाइकल टीभीएसको एक्सएल–१०० रहेको छ । यो मोटरसाइकलको मूल्य १ लाख १२ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै टीभीएसकै स्टार स्पोर्टको मूल्य १ लाख ५६ हजार रुपैयाँ पर्छ । नेपाली बजारमा टीभीएस मोटरसाइकल जगदम्बा मोटर्सले उपलब्ध गराउँदै आएको छ ।

सस्तो सेगमेन्टमा रनरको मोटरसाइकल पनि छन् । रनरको बाइक आरटी ८० सीसी इन्जिन क्षमताको मोटरसाइकल हो जसको नेपाली बजार मूल्य १ लाख ५२ हजार रुपैयाँ रहेको छ । बंगालादेशी मोटरसाइकल रनर नेपाली बजारमा रमन मोटर्सले बिक्री गर्दै आएको छ ।

महिन्द्राका सेन्टुरो रकस्टार मोटरसाइकल नेपाली बजारमा उपलब्ध छ जसको मूल्य १ लाख ६२ हजार ५ सय रुपैयाँ रहेको छ । १ सय १० सीसीको यो मोटरसाइकल रकस्टार र डिसब्रेक दुई मोडलमा उपलब्ध छ ।महिन्द्राका मोटरसाइकल अग्नी मोटोइन्कले बिक्री गर्दै आएको छ ।

बजाज मोटरसाइकल नेपाली बजारमा हंसराज हुलासचन्द एन्ड कम्पनीले उपलब्ध गराउँदै आएको छ । बजाजको सबैभन्दा सस्तो मोटरसाइकल प्लाटिना १०० इएस हो जसको मूल्य १ लाख ६३ हजार ९ सय रुपैयाँ रहेको छ । बजाज डिस्कभर १२५ ड्रमको १ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै यामाहाको सस्तो मोटरसाइकलमा सलुटो ड्रम १२५ सीसी रहेको छ । यो मोटरसाइकलको मूल्य १ लाख ८७ हजार ९ सय रुपैयाँ रहेको छ । यामाहाका मोटरसाइकल नेपाली बजारमा एमएडब्लू इन्टरप्राइजेजले बिक्री गर्दै आएको छ ।

होन्डाको मोटरसाइकल नेपाली बजारमा स्याकार ट्रेडिङले बिक्री गर्दै आएको छ । होन्डाको सस्तो मोटरसाइकल सीडी ड्रिम बीएलएक्स हो जसको बजार मूल्य १ लाख ७० हजार ९ सय रुपैयाँ रहेको छ ।

त्यस्तै सुजुकीको सस्तोमा हायाते इपी रहेको छ । १ सय १३ सीसी इन्जिन क्षमताको यो मोटरसाइकलको बजार मूल्य १ लाख ७८ हजार ९ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्