Logo

गुठी विधेयक नेपाली संस्कृति माथिको प्रहारः कमल थापा



कखरा संवाददाता


हेटौंडा । राप्रपाका अध्यक्ष कमल थापाले सरकारले ल्याएको गुठी विधेयकले नेपाली संस्कृतिमाथि प्रहार गर्न खोजेकोे आरोप लगाउनुभएको छ ।

हेटौँडामा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले सरकारले ल्याएको गुठी विधेयकले नेपाली संस्कृतिमाथि प्रहार गर्न खोजेकोले तत्काल फिर्ता नगरे देशमा मुडभेडको खतरा उत्पन्न हुने बताउनुभयो । प्राचिनकालबाट नै नेपालमा गुठीको परम्परा रहेको र यसले नेपाली संस्कृतिको जगेर्ना गर्न सहयोगीको भूमिका खेलेको भन्दै अध्यक्ष थापाले गुठी विधेयकलाई फिर्ता गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्नुभयो ।

पछिल्लो समयमा सरकारले विवादित विधेयकहरु ल्याएको भन्दै उहाँले मिडिया काउन्सिल विधेयक, नागरिकता सम्वन्धी विधेयक, राष्ट्रिय सुरक्षा सम्वन्धी विधेयकले देशमा खतरा उत्पन्न गर्ने समेत बताउनुभयो । लोकतान्त्रिक मुलुकमा मिडियालाई बन्देज गर्न खोज्नेगरि विधेयक ल्याउनु आश्चर्यको विषय भएको भन्दै थापाले सरकारले यस्ता विवादमा आउने विधेयकलाई फिर्ता लिनुपर्ने सुझाव दिनुभयो ।

नेपालमा सनातन हिन्दुराज्य आवश्यक भएको भन्दै उहाँले यसको लागि राप्रपा सधैँभरी लागिपर्ने बताउनुभयो । नेपाली जनभावनाको कदर गर्ने पार्टी राप्रपा मात्रै भएको भन्दै उहाँले राप्रपा पनि भारतमा भाजपा उदायजस्तैगरि उदाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्