Logo

मुक्तिनाथ बिकास बैंकको अफर:२० हजार बचतमै क्यान्सर र दुर्घटना मृत्यु बिमा



कखरा संवाददाता


काठमाडौं । विकास बैंकमध्ये नेपालकै ठूलो बैंक मुक्तिनाथ विकास बैंकले ग्राहकले थोरै रकम बचत गर्दा पनि ठुला जोखिमका बिमा गरिदिने सुबिधा सार्वजनिक गरेको छ। बैंकले संचालन गरेको ‘जीवन वरदान बचत योजना’ र ‘जीवन बचत प्लस’मा ग्राहकको उच्च आकर्षण देखिएको छ ।

ग्राहकको स्वास्थ्य र स्वास्थ्योपचारलाई ध्यानमा राखेर ल्याइएको जीवन बरदान बचत खाता योजनामा न्यूनतम १० हजार बचतमै ५ लाख रुपैयाँको क्यान्सरविरूद्धको बिमा हुने बैंकले जनाएको छ । क्यान्सरविरुद्धको सुरक्षा योजना संचालन गर्ने बित्तीय संस्थामा मुक्तिनाथ विकास बैंक देशकै पहिलो भएको बैंकको दाबि छ ।

बैंकद्वारा जारी ग्राहक लक्षित योजनामा जीवन वरदान बचत, जीवन बचत प्लस र जीवन वरदान प्रिमियम गरी तीनवटा खाता योजना रहेका छन । जीवन वरदान बचत खातामा न्यूनतम १० हजारमा ५ लाख बराबरको क्यान्सर बिमा योजना छ जसमा सहभागी ग्राहकलाई खाता खोलेको ९० दिनपछि ‘लाइफ थ्रेटनिङ’ क्यान्सर भएको थाहा भएमा ५ लाख रुपैयाँको बिमा बिनाझन्झट उपलब्ध गराईने ब्यवस्था छ ।

जीवन बचत प्लस खातामा १० लाख रुपैयाँबराबरको दुर्घटना मृत्यु बिमा समावेश छ जसमा क्यान्सर उपचारको बिमा भने समावेश छैन । क्यान्सर र दुर्घटना मृत्यु बिमा दुवै चाहने ग्राहकले जीवन वरदान प्रिमियम खाता योजनामा सहभागी भई न्यूनतम २० हजार वचत गर्नुपर्ने बैंकले जनाएको छ ।

यसबाहेक सरकारले १ सय रुपैयाँमा खाता खोल्न जारी गरेको परिपत्रअनुसार बैंकले २ सय रुपैयाँ हालिदिने योजना ल्याएको छ । त्यसमा १ सय रुपैयाँ बैंकले हालिदिने र १ सय रुपैयाँबराबरको मोबाइलमा रिचार्ज गरिदिने गरेको छ । त्यसैगरी लकरमा विशेष छुट, नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएममा भिसा कार्ड निःशुल्क प्रयोग, पहिलो वर्षका लागि एटिएम कार्ड निःशुल्क र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका सुविधा बैंकले निःशुल्क गरेको छ । बैंकले बचतमा ७ प्रतिशत ब्याज दिएको जनाएको छ ।

२०६३ सालमा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको अनुमति प्राप्त गरेर स्थापना भएको मुक्तिनाथ विकास बैंक धादिङको सिभिक डेभलपमेन्ट बैंकलाई आफूमा गाभेपछि राष्ट्रिय स्तरको बनेको हो । हाल यो बैंकका देशभर ११३ शाखा, एक एक्सटेन्सन काउन्टर र ९३ वटा माइक्रोफाइनान्स डेस्क छन् ।

नयाँ योजनामा बैंकमा रहेका पुराना ग्राहक पनि खाता परिवर्तन गरेर आउन सकिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्