Logo

‘नाम मात्रको बक्सअफिस लागू नहोस्’



कखरा संवाददाता


काठमाडाैं । वर्षौदेखि नारामा मात्र सीमित रहेको बक्सअफिस प्रणाली गएको साउन १ गतेबाट उपत्यकामा लागू भइसकेको छ । तर, प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । अझै निर्माताले आफ्नो फिल्मको व्यापारिक रिपोर्ट चुरोटमा खोलमा लिनु पर्ने अवस्था ज्यूँकात्यूँ छ । उपत्यकाभित्र लागू भएको ‘ई–टिकेटिङ सिस्टम’ कार्यान्वयन हुन नसकिरहेको अवस्थामा नेपाल सरकार यसै वर्ष मोफसलमा पनि बक्सअफिस लागू गर्ने तयारीमा छ ।

बक्सअफिसबाट प्राप्त फिल्मको कलेक्सन रिपोर्ट र वितरकले दिने रिपोर्टमा ठूलो अन्तर देखिएको भन्दै फिल्ममेकरले बक्सअफिस लागू भएको महशुस गर्न नपाएको गुनासो पोखिरहेका छन् । बक्सअफिस लागू भएपछि आफ्नो फिल्मको यकिन कारोबार थाहा पाउन सकिनेमा निर्माताहरु निकै खुसी थिए । तर, उपत्यकामा बक्सअफिस लागू भएको वर्ष दिन वित्न लाग्दा पनि फिल्मकर्मीले यसको महशुस गर्न पाएका छैनन् ।

अभिनेता भुवन केसीले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई नाम मात्रको बक्सअफिस लागू नगर्न ध्यानाकर्षण गराएका छन् । मंगलवार चलचित्र पत्रकार संघ, नेपालको २०औं वार्षिक उत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफूहरु कैयन् पटक सञ्चार मन्त्रालयमा नयाँ मन्त्री र चलचित्र विकास बोर्डमा नयाँ अध्यक्षको नियुक्ति हुँदा बक्सअफिस लागू हुनेमा उत्साहित हुने गरेको भएता पनि सधैं निराश हुनु परेको बताए ।

अभिनेता टर्न निर्देशक भुवन भन्छन्, ‘सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डमा धेरै मन्त्री र अध्यक्षहरु फेरिनुभयो । तर, न बक्सअफिस लागू भयो न त फिल्म क्षेत्रको नै सोचे अनुरुप विकास भयो । हामी सधैं निराश मात्र भइरह्यौं । यसपटक भने सञ्चारमन्त्री र बोर्ड अध्यक्षप्रति हाम्रो ठूलो आशा र अपेक्षा छ । नाम मात्रको बक्सअफिस चाहिँ लागू नहोस् । फेयर बक्सअफिस लागू गर्न म आग्रह गर्छु ।’

भुवनको मन्तव्यपछि संघको वार्षिक उत्सवमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले यसै वर्षभित्र उपत्यकामा पनि बक्सअफिस लागू हुने र कार्यन्वयन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘अब ‘ई–टिकेटिङ सिस्टम’ कसैले रोकेर रोकिन्न । यस वर्षभित्र उपत्यका बाहिर बक्सअफिस लागू गर्न मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छु, मन्त्री बाँस्कोटाले भने- ‘बक्सअफिस लागू गर्छु भन्दा म हल सञ्चालकका लागि छुच्चो भएको छु । फिल्म क्षेत्रको हित हुने काममा म छुच्चो हुन पनि तयार छु ।’

उनले विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई बोर्डको नाममा रहेको बालाजुको जग्गा खोज्न पनि निर्देशन दिएका छन् । उनले भने- ‘बोर्डको त्यो जग्गा बोर्डकै नाममा छ वा अरुको भइसक्यो, त्यो खोज्नुस् । त्यहाँ एउटा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गरौं । त्यसका लागि सरकारले गर्न सक्ने सबै सहयोग गर्छ ।’ नेपाली फिल्म कम्तिमा ३ महिना हलमा चल्ने वातावरण निर्माण गर्न आफूले फिल्मकर्मीबाट साथ(सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्